बलिराम शुक्ला, बिरुवागुठी, १५ कात्तिक/ पर्सागढी नगरपालिका अन्तर्गत रहेको सिङ्गाही खोला आइतवारदेखि पुनः सञ्चालनमा आएको छ । तर खोला सञ्चालनमा आएसँगै एउटै ढुवानी रसिद प्रयोग गरी दिनभरि पटकपटक गिट्टी तथा बालुवा ओसारपसार भइरहेको पाइएको छ । यसले खोला उत्खनन तथा ढुवानी व्यवस्थापनमा ठेकेदार र नगरपालिका कार्यालयको अनुगमनमाथि प्रश्न उठाएको छ ।
यही कात्तिक १ गते ठेक्का प्रक्रियामार्फत सञ्चालनमा आएको सिङ्गाही खोलामा ठेकेदार र पर्सागढी नगरपालिका कार्यालयको लापरवाही भएको स्थानीयको गुनासोपछि सबडिभिजन वन कार्यालय, बडनिहार, साझेदारी वनका कर्मचारी तथा स्थानीय सञ्चारकर्मीको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा नगरपालिकाबाट ढुवानी रसिद प्रमाणित नगराइएको, एउटै रसिद प्रयोग गरी दिनभरिमा तीनदेखि पाँच टिपसम्म गिट्टी, बालुवा ओसारपसार भइरहेको तथा निर्धारित मापदण्डविपरीत उत्खनन गरिएको पाइएको थियो । त्यसपछि नगरपालिकाले खोला सञ्चालनमा रोक लगाएको थियो ।
नगरपालिकाले एक हजार थान ढुवानी रसिद प्रमाणित गरी ठेकेदार पक्षलाई जिम्मा लगाएपछि आज बिहानदेखि खोला पुनः सञ्चालनमा आएको हो ।
खोला सञ्चालनमा आएलगत्तै सबडिभिजन वन कार्यालय, बडनिहारका वन अधिकृत मुबारक अलि गद्दीको नेतृत्वमा वन तथा साझेदारी वनका कर्मचारीको टोलीले निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा रसिद प्रमाणित भएपनि एउटै रसिदबाट पटकपटक ढुवानी भइरहेको पुनः फेला परेको थियो
टोलीले एउटै रसिद प्रयोग गरी ढुवानी गरिरहेका पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएर सम्झाइबुझाइ छाडेको वन अधिकृत गद्दीले जानकारी दिए । उनले आगामी दिनमा पनि यस्तो गतिविधि दोहोरिए कानून अनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।
यता, ढुवानी रसिद प्रमाणित गर्ने अख्तियारी पाएका पर्सागढी नगरपालिका राजस्व शाखाका प्रमुख अशोक चौधरीले नगरपालिकाले एक हजार थान ढुवानी रसिद प्रमाणित गरी ठेकेदार पक्षलाई हस्तान्तरण गरेको बताए । उनका अनुसार खोलाको सीमाङ्कनका लागि वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा डिभिजन वन कार्यालय, पर्सा र जिल्ला समन्वय समितिलाई पत्राचार गरिनेछ । एक/दुई दिनभित्रै सीमाङ्कन गर्ने तयारी रहेको उनले जानकारी दिए ।
नगरपालिकाले मापदण्ड अनुसार मात्रै गिट्टी, बालुवा उत्खनन तथा ढुवानी गर्न ठेकेदारलाई निर्देशन दिएको चौधरीले बताए । तर रसिद प्रमाणित भएपछि पनि एउटै रसिदबाट पटकपटक ढुवानी भइरहेको घटनाले राजस्व चुहावटको सम्भावना तथा नदीजन्य पदार्थ उत्खननको प्रभावकारी अनुगमनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।


Comments
Post a Comment