वीरगञ्ज,१४ कार्तिक /सरुवा भएर नयाँ कार्यस्थलमा हाजिर हुनुपर्नेमा पुरानै स्थानीय तहमा कार्यरत रहेपछि सरकारले तीनवटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको जिराभवानी गाउँपालिका, जुम्लाको कनकासुन्दरी गाउँपालिका र काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको खाता सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार ती स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको अन्यत्र सरुवा गरिएको भए पनि उनीहरू नयाँ कार्यस्थलमा हाजिर नभई पुरानै कार्यालयमा काम गर्दै आएका थिए। त्यस्तै, मन्त्रालयबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइए पनि सम्बन्धित पालिकाले उनीहरूलाई हाजिर गराउन असहयोग गरेको पाइएको छ।
सरकारी सरुवा निर्णय कार्यान्वयन नगरेको र नयाँ जिम्मेवारीमा खटिएका कर्मचारीलाई कामकाजमा लगाउन नसकेको भन्दै मन्त्रालयले सम्बन्धित पालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गर्ने कदम चालेको हो।
मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित कामकाज सञ्चालन गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।
यसैगरी, जिम्मेवारी रद्द गरिएको विषयमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै नयाँ प्रमुख प्रशासकीय अधिकृतमार्फत खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयको यो निर्णयले सरकारी सरुवा तथा पदस्थापन सम्बन्धी निर्णय कार्यान्वयनमा अटेर गर्ने स्थानीय तहलाई प्रशासनिक दबाब परेको छ। साभारः सिधा कुरा

Comments
Post a Comment