Menu

चक्रवात ‘अर्नव’को जोखिमलाई ध्यानमा राख्दै पर्सामा उच्च सतर्कता अपनाउने निर्णय

जनआवाज खबर |
October 27, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया १० कार्तिक/ पर्सा जिल्लामा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। आगामी कात्तिक ११ देखि १४ गतेसम्म भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम रहेको भन्दै सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो।

जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई ध्यानमा राख्दै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको छ।

बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा सरकारी र गैरसरकारी संघसंस्थालाई २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएको छ। साथै, जिल्लाका सबै स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई तत्काल बैठक गरी आ–आफ्नो क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्थानीय तहले जोखिमयुक्त क्षेत्र पहिचान गरी उद्धारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राख्नुपर्नेछ। सम्भावित विपद्का कारण प्रभावित हुने नागरिकलाई सुरक्षित राख्न आश्रयस्थलको व्यवस्था गर्न तथा एम्बुलेन्स, दमकल र जेसीबीजस्ता उद्धारमा प्रयोग हुने साधनलाई इन्धनसहित तयारी अवस्थामा राख्न पनि भनिएको छ।

चक्रवातको सम्भावित प्रभावबाट कृषि क्षेत्रमा हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै किसानलाई कात्तिक १२ गतेअघि नै पाकेको धान काटेर मियो लगाउन आग्रह गरिएको छ। काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न तथा मौसमको अवस्था अनुकूल नभएसम्म थप धान नकाट्न किसानलाई जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ।

बैठकले कात्तिक १२, १३ र १४ गते चक्रवातको प्रभाव बढी पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।

विपद्सम्बन्धी सूचना तथा सतर्कताका उपायलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्‍याउन एफएम रेडियो, सामाजिक सञ्जाल र स्थानीय संघसंस्थामार्फत व्यापक प्रचारप्रसार गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3