धर्मेन्द्र चौरसिया, पोखरिया ४ कार्तिक/पर्साको पोखरिया नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक गतिविधि बढ्न थालेका बेला राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले रास्वपाको अनलाइन प्रणालीमार्फत पार्टीको साधारण सदस्यता लिएका हुन्।
राष्ट्रिय मुक्ति पार्टी नेपालमा सहमहासचिवको जिम्मेवारीमा रहेका शमानीले पार्टी परिवर्तन गर्दै रास्वपा रोजेका हुन्। पोखरिया नगरपालिकाको विकास र स्थानीय जनताको चाहना तथा अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले आफू रास्वपामा आबद्ध भएको उनले बताएका छन्।
शमानीका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने लक्ष्य रहेको छ। नगरको विकास, नागरिकका समस्या समाधान तथा जनअपेक्षाअनुसार काम गर्ने उद्देश्यसहित आफू राजनीतिक रूपमा अघि बढ्न चाहेको उनको भनाइ छ।
उनले पार्टीभित्र समन्वय, सहकार्य र आपसी समझदारीलाई प्राथमिकता दिँदै रास्वपाको नीति तथा निर्देशनअनुसार अघि बढ्ने बताएका छन्। स्थानीय नागरिकको आवश्यकता पहिचान गरी उनीहरूको चाहनाअनुसार काम गर्नु आफ्नो प्राथमिकता रहने शमानीको भनाइ छ।
सामाजिक कार्यबाट राजनीतिमा सक्रिय
राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका शमानी लायन्स क्लबमार्फत विभिन्न सामाजिक गतिविधिमा सहभागी हुँदै आएका छन्। सामाजिक सेवामा आफ्नो संलग्नतालाई थप प्रभावकारी बनाउँदै स्थानीय तहमा जनतासँग नजिक रहेर काम गर्ने उनको लक्ष्य रहेको बताइएको छ।
शमानीको रास्वपा प्रवेशसँगै पोखरियाको स्थानीय राजनीतिमा उनको आगामी भूमिकाबारे चर्चा सुरु भएको छ। विशेषगरी नगर प्रमुख पदमा उम्मेदवारी दिने उनको घोषणाले आगामी निर्वाचनको राजनीतिक समीकरणमा चासो बढाएको छ।
यद्यपि, पोखरिया नगरपालिकाको नगर प्रमुख पदका लागि रास्वपाले शमानीलाई आधिकारिक उम्मेदवार घोषणा गरिसकेको पुष्टि भएको छैन। उनको उम्मेदवारीको अन्तिम टुंगो पार्टीको आन्तरिक प्रक्रिया र आधिकारिक निर्णयपछि मात्रै लाग्नेछ।
आगामी निर्वाचन नजिकिँदै जाँदा पोखरियामा विभिन्न राजनीतिक दलका नेता तथा सम्भावित उम्मेदवारहरूको सक्रियता बढ्ने देखिएको छ। यस्तो अवस्थामा शमानीको पार्टी प्रवेशले स्थानीय राजनीतिक प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

Comments
Post a Comment