बलिराम शुक्ला , बिरुवागुठि /बडादशैँको सातौँ दिन फूलपातीका अवसरमा पर्साका विभिन्न देवीस्थलमा शनिबार बाजागाजा र भक्तिमय वातावरणबीच फूलपाती भित्र्याइएको छ। फूलपाती भित्र्याएसँगै जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा दशैँको रौनक थप बढेको छ।
वीरगन्जस्थित गहवामाई मन्दिरदेखि पोखरिया नगरपालिका धोबनी,पर्सागढी, सखुवाप्रसौनी र पटेर्वासुगौली, जिरा भवानी ,जगरनाथपुर, छिपहरमाई लगायतका क्षेत्रका देवीस्थलमा श्रद्धालु भक्तजनले धुमधामका साथ फूलपाती भित्र्याएका हुन्।
पर्सागढी नगरपालिका–३ पकडिया बडनिहार बजारस्थित देवीस्थलमा बिहानै फूलपाती भित्र्याइएको थियो। त्यसैगरी पारस पटेल चोक, हरदासपुर, मनवा, रघुनाथपुर, बागेश्वरी तित्रौनालगायतका स्थानमा पनि धार्मिक विधिअनुसार फूलपाती भित्र्याइएको छ।
फूलपाती भित्र्याउने क्रममा श्रद्धालु भक्तजन बाजागाजा सहित नाचगान गर्दै सहभागी भएका थिए। विभिन्न स्थानमा देखिएको भक्तजनको उत्साह र चहलपहलले दशैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काएको छ।
हिन्दू धर्मावलम्बीको महान् पर्व बडादशैँमा फूलपाती भित्र्याउने परम्परालाई विशेष महत्त्वका साथ लिइन्छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा दुर्गा भगवतीको पूजा–आराधना गरी घर तथा देवीस्थलमा फूलपाती भित्र्याउने चलन छ।
फूलपातीलाई दशैँको विशेष दिनका रूपमा लिइन्छ। यस दिनदेखि दशैँको उत्सव थप उल्लासमय बन्ने र देवी दुर्गाको आराधनासँगै सुख, शान्ति तथा समृद्धिको कामना गरिने धार्मिक विश्वास छ।





COMMENTS