धर्मेन्द्र चौरसिया, पोखरिया ३१ असोज/पर्साको पोखरिया नगरपालिका–४ मा विगत लामो समयदेखि लाग्दै आएको नवदुर्गा पूजा तथा मेलाको उद्घाटन आज एक कार्यक्रमबीच वडाध्यक्ष लक्ष्मण शाह कानुले गरेका छन्।
पूजा मण्डपमा रिबन काटेर वडाध्यक्ष कानुले मेलाको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले देशमा शान्ति कायम हुनुका साथै नगरवासीको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे।
वडाध्यक्ष कानुले मेलालाई धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी भाइचाराको प्रतीकका रूपमा लिँदै यसले स्थानीय समुदायबीच एकता र मेलमिलाप बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
मेलाको अवसरमा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए। उनका अनुसार कार्तिक १ गते आइतबारदेखि फुटबल प्रतियोगिता सञ्चालन हुनेछ भने कार्तिक ७ गते दंगल कुस्ती प्रतियोगिता आयोजना गरिनेछ।
त्यसैगरी, मेलामा सहभागी भक्तजन तथा दर्शकको मनोरञ्जनका लागि दैनिक नाच, झाँकी तथा भजन–कीर्तनका कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
नवदुर्गा पूजा तथा मेलाले धार्मिक परम्पराको संरक्षण गर्नुका साथै स्थानीय कला, संस्कृति र खेलकुदको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। मेलामा स्थानीयवासी तथा आसपासका क्षेत्रका सर्वसाधारणको सहभागिता रहने विश्वास गरिएको छ।

COMMENTS