पोखरिया,१ कार्तिक /विजयादशमीको अवसरमा श्री नवदुर्गा पूजा समिति पोखरियाको आयोजनामा आइतबारदेखि दोस्रो पोखरिया गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। पोखरिया नगरपालिका–स्थित जिल्ला उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हाम्रो वीरगञ्ज क्लबले देकुली पटेरवा फुटबल टिमलाई ३–० गोल अन्तरले पराजित गरेको छ।
खेलमा वीरगञ्ज क्लबले पहिलो हाफमा एक गोल गरेको थियो। दोस्रो हाफमा थप दुई गोल गर्दै टोलीले सहज जित निकालेको हो। खेलमा दुई गोल गरेका वीरगञ्ज क्लबका जर्सी नम्बर ७ का राजेश चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए।
चौधरीलाई पूर्व नगर प्रमुख दीप नारायण रौनियार र नेपाली कांग्रेसका नेता सकिम मियाले नगद एक हजार रुपैयाँसहित शिल्ड तथा मेडल प्रदान गरी सम्मान गरेका थिए।
मेला समिति अध्यक्ष तथा वडाध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीले प्रतियोगिताको उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री क्षेत्रीले पोखरियामा खेलकुदको विकासका लागि पर्याप्त सम्भावना भए पनि रंगशाला निर्माण हुन नसकेको बताए। आफूले पटक–पटक रंगशाला निर्माणका लागि बजेट विनियोजन गराउन पहल गरे पनि नगरपालिकाको लापरवाहीका कारण बजेट फ्रिज भएको उनको भनाइ थियो।
नगरपालिका तथा स्थानीय जनप्रतिनिधिले रंगशाला निर्माणका लागि आवश्यक जग्गा र सहयोग उपलब्ध गराएमा पुनः बजेट विनियोजन गराउन पहल गर्ने उनले प्रतिबद्धता जनाए। खेलकुदले मानिसलाई मानसिक, शारीरिक तथा आर्थिक रूपमा समेत सबल बनाउन सहयोग गर्ने भएकाले युवाहरू खेलकुदप्रति जागरुक हुनुपर्ने उनले बताए।
कार्यक्रममा पूर्व नगर प्रमुख दीप नारायण रौनियार, नेकपाका प्रदेश कमिटी सदस्य पन्नालाल पटेल, नेता निजामुद्दिन सामानी लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए। नगर उपप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुरेन्द्र सिंहले गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ आशा चौहान, सकिम मिया, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दिलिप ठाकुर, वडाध्यक्ष नौसाद आलम, परमानन्द प्रसाद कुर्मी, किशोरी साहलगायतको उपस्थिति थियो।
प्रतियोगिताअन्तर्गत सोमबार दुई खेल हुने खेल संयोजक लक्ष्मण चौधरीले जानकारी दिए। उनका अनुसार पहिलो खेल नितनपुर बारा र मुनलाइट सन क्लब श्रीपुर पचगावाँबीच हुनेछ भने दोस्रो खेल रंगपुर युवा क्लब पर्सा र श्री स्काई युवा क्लब गदियानी बिच प्रतिस्पर्धा हुनेछ।





COMMENTS