Menu

पोखरिया नगरपालिकाका कर्मचारी तलबविहीन, चाडपर्वमा समेत आर्थिक संकट

जनआवाज खबर |
October 27, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया, १० कात्तिक/पर्साको पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरू महिनौँदेखि तलब नपाउँदा आर्थिक संकटमा परेका छन्। दशैंमा समेत तलब पाउन नसकेका कर्मचारीहरू दीपावली र छठ पर्वमा पनि तलब प्राप्त हुनेमा विश्वस्त हुन सकेका छैनन्। नगरपालिकामा नगरसभा हुन नसक्दा तलब भुक्तानी प्रक्रिया प्रभावित भएको नगरप्रमुखले बताएका छन्।

चाडपर्वका बेला समेत पारिश्रमिक नपाएपछि कर्मचारीहरू घरखर्च चलाउन समस्यामा परेका छन्। तलब भुक्तानीको माग गर्दै दशैंअघि नगरपालिकाका सफाइकर्मीहरूले दुईपटक सफाइ कार्य बन्द गरेर विरोध जनाएका थिए। नगरपालिकाले दशैंअघि तलब उपलब्ध गराउने आश्वासन दिएपछि उनीहरू काममा फर्किएका थिए। तर दशैं सकिँदासमेत तलब नपाएपछि कर्मचारीहरूको असन्तुष्टि बढेको छ।

नगरप्रमुख प्रद्युम्न चौहानले नगरसभा सम्पन्न हुन नसक्दा कर्मचारीको तलब भुक्तानीमा समस्या उत्पन्न भएको बताएका छन्। नगरसभा गर्ने तयारी भइरहेको उनको भनाइ छ। यद्यपि, नगरसभा बस्ने मिति अहिलेसम्म निश्चित हुन सकेको छैन। यसले तलब भुक्तानी कहिले हुन्छ भन्ने विषयलाई थप अनिश्चित बनाएको छ।

नगरपालिकाका स्थायी कर्मचारीहरूको तीनदेखि चार महिनासम्मको तलब बाँकी रहेको बताइएको छ। नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले समेत त्रैमासिक तलब पाउन सकेका छैनन्। करारमा नियुक्त कर्मचारीहरूको अवस्था झन् कठिन छ। उनीहरूले एक वर्षदेखि तलब नपाएको बताइएको छ।

कर्मचारीको सङ्ख्याबारे समेत अन्योल

तलब भुक्तानीको समस्या मात्रै नभई पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूको वास्तविक सङ्ख्याबारे समेत प्रश्न उठेको छ। सफाइकर्मी, नगर प्रहरी तथा विभिन्न प्रशासनिक शाखामा कार्यरत कर्मचारीमध्ये दरबन्दीबाहेक कति जना छन् भन्ने यकिन विवरण सार्वजनिक हुन सकेको छैन।

कर्मचारी व्यवस्थापनमा देखिएको अस्पष्टताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटकपटक छानबिन तथा अनुगमन गर्दै कर्मचारीहरूको यथार्थ विवरण माग गरेको बताइएको छ। तर आयोगलाई समेत नगरपालिकाले कर्मचारीको यकिन विवरण उपलब्ध गराउन नसकेको जनाइएको छ। विनादर्ता कर्मचारी खटाइएको विषयले पनि नगरपालिकाको प्रशासनिक पारदर्शिता र व्यवस्थापनमाथि प्रश्न उठाएको छ।

दीपावली र छठ पर्व नजिकिँदै गर्दा कर्मचारीहरूले बाँकी तलब पाउने विषयमा कुनै ठोस निर्णय सार्वजनिक भएको छैन। एकातिर महिनौँदेखिको पारिश्रमिक बाँकी छ भने अर्कोतिर नगरसभाको मिति नै तय हुन सकेको छैन।

कर्मचारीको बाँकी तलब भुक्तानी, दरबन्दीबाहेक कार्यरत कर्मचारीको यकिन विवरण सार्वजनिक गर्ने तथा प्रशासनिक व्यवस्थापनलाई पारदर्शी बनाउने विषयमा नगरपालिकाले स्पष्ट कदम चाल्नुपर्ने देखिएको छ। तर कर्मचारीहरूले तलब कहिले पाउने र नगरपालिकाको समस्या कहिले समाधान हुने भन्ने प्रश्न अझै अनुत्तरित छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3