बलिराम शुक्ला, बिरुवागुठी १० कार्तिक /पर्साको पर्सागढी नगरपालिका–२ गोडपसराबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठसहित पिकअप गाडी बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना चालकलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक मनोज यादव र प्रहरी चौकी मनवाका प्रहरी सहायक निरीक्षक ऋषीराम भट्टराईको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सोमबार राति करिब २ बजे उक्त काठ र गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिन्दवासिनी कोइलाभार साझेदारी वनअन्तर्गत छतवनटाडी र बडनिहार आसपासको जंगलबाट सालको गोलिया काठ अवैध रूपमा कटान गरी फर्निचर उद्योगतर्फ लैजाँदै गरेको अवस्थामा ना. ५ त १२५४ नम्बरको पिकअपबाट सात थान सालको गोलिया काठ बरामद गरिएको हो।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–२ छतवनटाडी निवासी पिकअप चालक केदार चौधरी रहेका छन्।
बरामद काठ, पिकअप गाडी र पक्राउ परेका चालकलाई इलाका प्रहरी कार्यालय एकटाङ्गामा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिएका छन्।

Comments
Post a Comment