धरान, सुनसरी १६ कार्तिक /ठूलो परिमाणमा गाँजा भारततर्फ ओसारपसार गर्ने तयारी भइरहेको अवस्थामा प्रहरीले सुनसरीको धरानबाट पाँच जनालाई पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–२० च्यानडाँडामा सोमबार बिहान दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बिहान करिब ३ बजे च्यानडाँडामा निगरानी तथा खोजी गर्ने क्रममा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुईवटा स्कार्पियोमा गाँजा लोड भइरहेको फेला परेको थियो।
प्रहरी टोलीलाई देखेपछि पक्राउ पर्न लागेका व्यक्तिहरूले गाडीसहित भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि पाँचै जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।प्रहरीले दुवै स्कार्पियोबाट आठ पोकामा प्याक गरिएको करिब २१० किलो गाँजा बरामद गरेको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह रहेका छन्।
त्यस्तै, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे पनि पक्राउ परेका छन्।प्रहरीका अनुसार यादव बा.१ च ५०३८ नम्बरको स्कार्पियो र शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक हुन्।
बरामद गाँजा, दुवै सवारीसाधन र पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Comments
Post a Comment