पोखरिया १८ कार्तिक/पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवन बुधबार एक समारोहबीच उद्घाटन गरिएको हो ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश रिजालले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवन निर्माणका लागि रिजालले नै १२ कठ्ठा जग्गा दान गरेका थिए । उनले उपलब्ध गराएको जग्गा २०८१ फागुन १ गतेको निर्णयअनुसार गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो।
कुल ३ करोड ३४ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । जसमा गाउँपालिकाको २ करोड ३५ लाख, जिल्ला समन्वय समितिको ३५ लाख र प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको संसदीय विकास कोषबाट ६४ लाख रुपैयाँ खर्च गरिएको छ ।
भवन उद्घाटनपछि आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले यसअघि मदरसाको भवनबाट सञ्चालन हुँदै आएको प्रशासनिक सेवा अब आफ्नै भवनबाट प्रदान गरिने बताए । नयाँ भवन निर्माणसँगै सेवाग्राहीलाई सहज र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन मद्दत पुग्ने उनको भनाइ थियो ।
आफ्नो कार्यकालमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने प्रतिबद्धता पूरा भएको उल्लेख गर्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखेर विभिन्न काम गरिएको बताए ।
उद्घाटन समारोहमा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री,
प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, पूर्वप्रदेशसभा सदस्य प्रह्लाद गिरी तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गरेका थिए ।


Comments
Post a Comment