बलिराम शुक्ला, बिरुवा गुठी १७ कार्तिक/पर्साको पटेर्वा सुगौली गाउँपालिकामा अध्यक्ष कप २०८३ नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा युथ स्टार क्लब सिरहीले पर्सागढी युवा स्पोर्ट्स क्लब बढनियारलाई ३–१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
पटेर्वा सुगौली गाउँपालिका र नवजागृत युवा क्लब दक्षिण सुगौलीको आयोजनामा वडा नं. ४ स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष दिनेश चौधरीले गरेका हुन्।
उद्घाटन समारोहमा अध्यक्ष चौधरीले खेलकुदले युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्नुका साथै स्थानीय प्रतिभालाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उपाध्यक्ष ममता महतोले पनि युवालाई खेलकुदमा आकर्षित गर्न यस्ता प्रतियोगिता आवश्यक रहेको बताइन्।
प्रतियोगिताको विजेता टोलीले नगद ७० हजार रुपैयाँ र उपविजेताले ३५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत भोलि कात्तिक १८ गते बकुलिया र नवदुर्गा युवा क्लब बेलवा टारीबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन समारोहमा विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

Comments
Post a Comment