बिरगंज १६ कार्तिक/ आगामी स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन बाँकी रहे पनि देशका प्रमुख राजनीतिक दलहरूले अहिलेदेखि नै चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन्। निर्वाचनमा आफ्नो पकड बलियो बनाउने रणनीतिसहित दलहरू उम्मेदवार छनोट, संगठन विस्तार, सदस्यता नवीकरण र जनसम्बन्ध विस्तारमा केन्द्रित हुन थालेका हुन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित उम्मेदवारको पहिचान र छनोट प्रक्रियालाई अघि बढाउँदै ‘क्यान्डिडेट क्लब’ मार्फत विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष पदका लागि उल्लेख्य आवेदन प्राप्त भएका छन्। नगरपालिकाका विभिन्न पदमा पनि आवेदन आउने क्रम जारी छ। तर वडा सदस्य पदमा भने अपेक्षाकृत कम आवेदन परेको उनले बताएका छन्।
उम्मेदवार छनोटमा नयाँ विधि अपनाउने तयारीमा रहेको नेपाली कांग्रेसले पनि उपसभापति पुष्पा भुसालको नेतृत्वमा इलेक्सन ब्युरो गठन गरेको छ। ब्युरोले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड तयार पारिरहेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिएका छन्।
कांग्रेसले यसपटक उम्मेदवार छनोटमा वडा तहका क्रियाशील सदस्यको मतलाई प्राथमिकता दिने नीति अघि सारेको छ। नेताहरूको व्यक्तिगत पहुँच र सिफारिसभन्दा पार्टीका सदस्यको रुचि तथा समर्थनका आधारमा उम्मेदवार चयन गर्ने तयारी भइरहेको शिवाकोटीको भनाइ छ। उनका अनुसार विगतमा सीमित नेताहरूको निर्णयबाट उम्मेदवार छनोट हुने अभ्यासलाई अन्त्य गर्ने लक्ष्य पार्टीले लिएको छ।
यता, नेकपा (एमाले) ले पनि स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठन बलियो बनाउने अभियानलाई निरन्तरता दिएको छ। गत असारदेखि सञ्चालनमा रहेको ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत केन्द्रीय प्रतिनिधिहरूलाई स्थानीय तहमा परिचालन गरी बैठक, भेला तथा सदस्यता नवीकरणका कार्यक्रम सञ्चालन भइरहेका छन्।
एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पार्टीले संगठनात्मक गतिविधिलाई व्यवस्थित बनाउँदै आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय भेला, मङ्सिर २८ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले पनि कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार स्थानीय निर्वाचनलाई ध्यानमा राखेर संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार अभियानको मुख्य उद्देश्य रहेको छ।
अभियानका क्रममा केन्द्रीय नेताहरू पालिका तहसम्म पुगेर पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी लिइरहेका छन्। स्थानीयस्तरमा आगामी निर्वाचनमा उम्मेदवार बन्न सक्ने लोकप्रिय व्यक्तिहरूको पहिचान तथा सर्वेक्षण गर्ने कामसमेत भइरहेको ज्वालाले बताएका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा नगर्दै दलहरू चुनावी तयारीमा जुट्नुले आगामी राजनीतिक प्रतिस्पर्धालाई लिएर पार्टीहरू अहिलेबाटै रणनीतिक रूपमा अघि बढ्न थालेको देखिएको छ। यसपटक उम्मेदवार छनोटको प्रक्रिया, स्थानीय संगठनको अवस्था र जनमत आफ्नो पक्षमा पार्ने दलहरूको रणनीतिले निर्वाचनको प्रारम्भिक राजनीतिक माहोल तय गर्ने देखिन्छ।

Comments
Post a Comment