बलिराम शुक्ला , बिरुवागुठि ४/नेपालीहरूको महान् पर्व बडादशैँको मुख्य दिन विजयादशमीका अवसरमा आज मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै दशैँ मनाइँदै छ।
विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनले आफूभन्दा सानालाई निधारमा रातो टीका र शिरमा जमरा लगाइदिई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने परम्परा छ।
दशैँमा टीका र जमरा लगाउनु धार्मिक तथा सांस्कृतिक महत्त्वसँग जोडिएको छ। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वले परिवारका सदस्य, आफन्त तथा इष्टमित्रबीच आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिने गर्दछ।
रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका परिवारका सदस्यसमेत घर फर्किने भएकाले दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि लिने गरिन्छ। टीका र जमरासँगै मान्यजनबाट आशीर्वाद लिने र आफन्तसँग खुसी साटासाट गर्ने परम्पराले नेपाली समाजमा दशैँको विशेष महत्त्व रहेको छ।

Comments
Post a Comment