Menu

पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न

जनआवाज खबर |
October 30, 2026
Featured

 

धर्मेन्द्र चौरसिया, पोखरिया, १२ कात्तिक/ पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हरूको निरन्तर हेरफेर हुने क्रमले स्थानीय प्रशासनको स्थायित्वमाथि प्रश्न उठाएको छ । स्थानीय तहको निर्वाचन पछि २०७४ देखि हालसम्म १९ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको विवरण सार्वजनिक भएसँगै प्रशासनिक नेतृत्व किन स्थिर हुन सक्दैन भन्ने विषय चर्चामा आएको छ 

स्थानीय सरकार गठन भएको दुई कार्यकाल बित्न लाग्दासमेत नगरपालिकामा प्रशासनिक नेतृत्व स्थिर हुन नसकेको देखिन्छ । उपलब्ध विवरण अनुसार प्रशासन सेवातर्फका नौजना प्रमुख प्रशासकीय अधिकृत तीन महीनाभन्दा बढी जिम्मेवारीमा टिक्न सकेनन् । छोटो अवधिमैं अधिकृतहरूको सरुवा हुने क्रमले नगरपालिकाको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा समेत असर पर्न सक्ने देखिएको छ ।

रोचक पक्ष के छ भने प्रशासन सेवाका अधिकृतहरू लामो समय टिक्न नसक्दा स्वास्थ्य, शिक्षा तथा पशु सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै नगरपालिका सञ्चालन गरेको पाइएको छ । उनीहरूमध्ये केहीले छ महीनादेखि एक/दुई वर्षसम्म जिम्मेवारी सम्हालेका छन् । यसले प्रशासन सेवाका अधिकृतहरू छोटो समयमैं बाहिरिनुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने प्रश्न उठाएको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरूको बारम्बार सरुवा हुनुको वास्तविक कारण भने स्पष्ट हुन सकेको छैन । के प्रशासन सेवाका अधिकृतहरूले जिम्मेवारी अनुसार काम गर्न नसकेका हुन ? वा जनप्रतिनिधिबाट आवश्यक सहयोग र काम गर्ने अनुकूल वातावरण नपाएकाले उनीहरू टिक्न नसकेका हुन् ? अथवा कानून र प्रशासनिक प्रक्रियाको पालना गर्ने क्रममा मतभेद उत्पन्न हुने गरेको छ ? यी प्रश्नको जवाफ सम्बन्धित पक्षबाट आउन आवश्यक छ ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्वसँगै आर्थिक प्रशासन, बजेट कार्यान्वयन, कर्मचारी व्यवस्थापन तथा विकास निर्माणका काममा महŒवपूर्ण जिम्मेवारीमा रहने पद हो । यस्तो पदमा बारम्बार नेतृत्व परिवर्तन हुँदा योजनाको निरन्तरता, निर्णय प्रक्रियाको प्रभावकारिता र नागरिकले पाउने सेवामा असर पर्छ । स्थानीय सरकार प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच विश्वास, सहकार्य तथा कानूनसम्मत कार्यसम्पादन अपरिहार्य हुन्छ ।

प्रशासनिक नेतृत्वलाई स्वतन्त्र र जिम्मेवार ढङ्गले काम गर्ने वातावरण उपलब्ध गराउनुका साथै कर्मचारीले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू टिक्न नसक्नुको कारण पहिचान गर्न सम्बन्धित जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायले गम्भीर समीक्षा गर्न आवश्यक छ । बारम्बारको नेतृत्व परिवर्तनको
वास्तविक कारण सार्वजनिक गर्दै प्रशासनिक स्थायित्व कायम गर्न नसके स्थानीय सरकारको कार्यक्षमता र नागरिकको विश्वासमा समेत प्रश्न उठिरहनेछ ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3