धर्मेन्द्र चौरसिया, पोखरिया ९ कार्तिक /पर्साको पोखरिया नगरपालिकाका विभिन्न स्थानमा जडान गरिएका टावरलाइटहरू बिग्रिएको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि मर्मत हुन सकेका छैनन्। रातिको समयमा सडक, बजार तथा गाउँबस्ती अन्धकारमय हुँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या हुनुका साथै सुरक्षा चुनौतीसमेत बढेको छ।
पोखरिया नगरपालिका–४ को गाउँ, बसपार्क, श्री जिल्ला उचाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय अगाडि, पोखरिया अस्पताल तथा वडा नं. ३ को बसन्तपुरस्थित छठघाटलगायतका स्थानमा जडान गरिएका टावरलाइट लामो समयदेखि बन्द अवस्थामा छन्। सार्वजनिक स्थानमा उज्यालोको व्यवस्था गर्न जडान गरिएका बत्तीहरू बिग्रिएर बन्द हुँदा पनि सम्बन्धित निकायले मर्मतमा चासो नदेखाएको स्थानीयको गुनासो छ।
हालै सम्पन्न बडादसैँका अवसरमा समेत टावरलाइट नबल्दा मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनहरू अँध्यारो बाटो हुँदै आवतजावत गर्न बाध्य भएका थिए। रातिको समयमा सडक तथा सार्वजनिक स्थान अँध्यारो हुँदा चोरीका घटना हुने गरेको र स्थानीयको सुरक्षामा समेत समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन्।
सार्वजनिक स्थानमा जडान गरिएका बत्तीहरूको नियमित अनुगमन तथा मर्मतसम्भार गर्नुपर्ने भए पनि लामो समयसम्म बन्द रहँदा नगरपालिकाको व्यवस्थापनप्रति प्रश्न उठेको छ। विशेषगरी चाडपर्वका बेला भक्तजन तथा सर्वसाधारणको आवतजावत बढी हुने भएकाले सडक र सार्वजनिक स्थानमा पर्याप्त उज्यालोको व्यवस्था गर्नुपर्ने स्थानीयको भनाइ छ।
नजिकिँदै गरेको हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व दीपावली तथा छठलाई ध्यानमा राख्दै स्थानीयवासीले बिग्रिएका टावरलाइट तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पोखरिया नगरपालिकासँग माग गरेका छन्। चाडपर्वमा सम्भावित दुर्घटना तथा चोरीका घटना न्यूनीकरण गर्न नगरपालिकाले समयमै ध्यान दिनुपर्ने उनीहरूको जोड छ।

Comments
Post a Comment