वीरगञ्ज,८ कार्तिक /बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले आगामी बिहीबार देखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान अनुसार कोसी देखि लुम्बिनीसम्मका विभिन्न स्थानमा मध्यम देखि भारी वर्षा हुन सक्ने भएकाले सम्भावित विपद्बा बाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक ११ गतेसम्म उल्लेखनीय मौसमी परिवर्तनको सम्भावना नरहे पनि कात्तिक १२ गतेदेखि मौसम बदली हुने अनुमान गरिएको छ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै, लुम्बिनीका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि शनिबारसम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरेका छन्। उनका अनुसार प्रारम्भिक पूर्वानुमानले २९ जिल्लालाई वर्षाजन्य जोखिममा पर्न सक्ने देखाएको छ।
उनले वर्षा हुने स्थान, समय र मात्रामा परिवर्तन हुन सक्ने भएकाले किसान, हिमाली क्षेत्रका बासिन्दा तथा पदयात्रीलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्। सम्भावित वर्षाले धानबालीमा क्षति पुर्याउनुका साथै सडक तथा हवाई यातायात, पर्यटन, स्वास्थ्य सेवा र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्नेछ।
भारत मौसम विज्ञान विभागका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गहिरो न्यूनचापीय प्रणाली हुँदै चक्रवातमा परिणत हुन सक्ने सम्भावना छ। उक्त प्रणाली भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटीय क्षेत्र हुँदै अघि बढ्ने अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले उक्त प्रणाली भारतको ओडिसा र बिहार हुँदै नेपालतर्फ प्रवेश गर्दा पूर्वी नेपालका केही जिल्लामा मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने बताएका छन्। उनले प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र नगराउन सुझाव दिएका छन्।
सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै सर्वसाधारणलाई मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने पछिल्लो बुलेटिन तथा सम्बन्धित निकायका सूचनाबारे अद्यावधिक रहन आग्रह गरिएको छ। विशेषगरी नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका बस्ती र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने देखिन्छ।

Comments
Post a Comment