वीरगन्ज २९ भदौ /वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्। सफाइ पाएसँगै उनको निलम्बन फुकुवा हुने भएको छ।
विशेष अदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि प्रचलित कानुनी व्यवस्थाअनुसार सिंह मेयर पदबाट स्वतः निलम्बनमा परेका थिए।
अख्तियारले सिंहमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोप लगाएको थियो।
तर सिंहले भने रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आरोप अस्वीकार गर्दै आएका थिए।
यस प्रकरणमा अख्तियारले सिंहसँगै वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेललाई समेत प्रतिवादी बनाएको थियो।
विशेष अदालतको सोमबारको फैसलाले सबै प्रतिवादीलाई सफाइ दिएको हो। फैसलासँगै सिंहमाथि लागेको निलम्बन सम्बन्धी अवस्था पनि अन्त्य हुने भएको छ।

COMMENTS