वीरगञ्ज, २० भदौ /मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४ का अयुब मियाँ अन्सारी रहेका छन्।
प्रहरीका अनुसार अन्सारीलाई घटनाको करिब १९ वर्षपछि पक्राउ गरिएको हो। उनीमाथि रोजगारीको प्रलोभनमा एक महिलालाई भारत हुँदै कतार पुर्याई त्यहाँबाट साउदी अरबमा बिक्री गर्न सहयोग गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार २०६३ साल चैत १५ गते वीरगञ्ज महानगरपालिका–श्रीपुरकी ‘क’ नामले चिनिने महिलालाई रोजगारीका लागि विदेश लैजाने भन्दै भारतको बाटो हुँदै कतार पुर्याइएको थियो।
कतार पुगेपछि ती महिलालाई अब्दुल कादिर भनिने कादिर अन्सारीले २ देखि ३ दिनसम्म आफूसँग राखेको र त्यसपछि ९० हजार रुपैयाँमा साउदी अरबमा बिक्री गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको थियो।
जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उक्त घटनामा अयुब मियाँ अन्सारीको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता मल्लले बताए।
पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको वास्तविक भूमिका, घटनामा संलग्न अन्य व्यक्तिहरू तथा त्यसबेलाको सम्भावित मानव बेचबिखनको सञ्जालबारे समेत थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
करिब दुई दशक पुरानो घटनामा आरोपित पक्राउ परेपछि प्रहरीले विगतमा भएका यस्ता घटनाको अनुसन्धानलाई समेत अघि बढाउने संकेत गरेको छ।

COMMENTS