पोखरिया,५असोज /पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा चोरी भएको घरभित्र एक महिला मृत अवस्थामा फेला परेकी छन्। घरको झ्याल तथा दराज तोडफोड गरी गरगहना चोरी भएको अवस्थामा ५५ वर्षीया लखराव देवी साह तुराहाको शव फेला परेको प्रहरीले जनाएको छ।
तीनतले पक्की घरमा आइतबार राति श्रीमान्–श्रीमती छुट्टाछुट्टै कोठामा सुतेका थिए। श्रीमान् श्रीनिवास साह तुराहा पहिलो तलामा र लखराव देवी दोस्रो तलामा सुतेकी थिइन्। रातिको समयमा अज्ञात व्यक्तिले झ्याल तोडेर दोस्रो तलामा प्रवेश गरी दराज फोडेर गरगहना चोरी गरेको प्रारम्भिक जानकारी प्रहरीले पाएको छ।
सोमबार बिहान पूजा गर्नका लागि श्रीमती नआएपछि श्रीनिवास उनलाई खोज्दै माथिल्लो तलामा पुगेका थिए। त्यसक्रममा लखराव देवी कोठाभित्र मृत अवस्थामा भेटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लंगडी, इलाका प्रहरी कार्यालय पोखरिया तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार महिलाको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। मृतकको टाउकोको पछाडिको बायाँ भागमा सामान्य चोट देखिएको उनले बताए। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीले जनाएको छ।
घरबाट लाखौँ रुपैयाँ मूल्य बराबरका गरगहना चोरी भएको स्थानीयले बताएका छन्। यद्यपि चोरी भएको सामानको यकिन विवरण भने संकलन भइनसकेको डीएसपी मल्लले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान तथा खोजतलास अघि बढाएको छ। मृतकका दुई छोरा र दुई छोरी रहेका छन्। उनका छोराहरू व्यवसायका क्रममा काठमाडौंमा बस्दै आएको जनाइएको छ।

COMMENTS