पोखरिया, ५ असोज/पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलबाट प्रहरीले करिब ३३ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। गाँजाको अवैध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।
आइतबार राति करिब १० बजे मलाही टोलमा गाँजाको कारोबार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेपछि कारोबारीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर लागूऔषध कारोबार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

COMMENTS