बारा, ४ असोज / बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सम्झना स्टाफ होटेलमा शनिबार साँझ भएको विवादका क्रममा ३८ वर्षीय शेरबहादुर खड्काको घाँटीमा चक्कु प्रहार भएको थियो। गम्भीर घाइते खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सिमराका करिब २२ वर्षीय आयुष राईलाई प्रहरीले पक्राउ गरेको हो। घटनापछि फरार भएका राईलाई जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित धान खेतबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।
प्रहरीका अनुसार आपसी विवादका क्रममा होटेलको भान्सामा रहेको चक्कु प्रयोग गरी राईले खड्काको घाँटीमा प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते खड्कालाई तत्काल सिमरा नगर अस्पताल लगिएको थियो।
त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा लगिएकोमा उपचारकै क्रममा शनिबार साँझ ६ः४० बजे उनको मृत्यु भएको हो।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बाराले थप अनुसन्धान भइरहेको जनाएको छ।

COMMENTS