धर्मेन्द्र चौरसिया, पोखरिया, २ असोज । वीरगन्ज–पोखरिया सडकखण्डका विभिन्न स्थानमा गहिरा खाल्डाखुल्डी परेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ ।
राजमार्गबाट आइसिपी, सुक्खा बन्दरगाह तथा परवानीपुरतर्फ जाने सडकका विभिन्न भाग जीर्ण हुँदा दैनिक आवतजावत गर्ने ट्रक, ट्याङ्कर, कन्टेनर तथा अन्य सवारीसाधन प्रभावित भएका छन् । विशेषगरी रातिको समयमा खाल्डाखुल्डी नदेखिँदा दुर्घटनाको जोखिम थप बढेको चालकहरूको भनाइ छ ।
चालक उमेश साहले सडक लामो समयदेखि जीर्ण रहे पनि मर्मतसम्भारमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको गुनासो गरे । स्थानीय शनि पटेलले व्यस्त व्यापारिक तथा औद्योगिक सडकमा खाल्डाखुल्डीका कारण सवारीसाधनमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिम बढेको बताए ।
स्थानीय तथा चालकहरूले तत्काल सडक मर्मत गरी खाल्डाखुल्डी पुर्न र नियमित मर्मतसम्भारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

COMMENTS