बलिराम शुक्ला, बिरुवागुठी / पर्साको पर्सागढी नगरपालिका लगायत ग्रामीण भेगमा यस वर्ष हरितालिका तीजको रौनक विगतका वर्षजस्तो देखिएन। तीजको दिन बजार, गाउँ–टोलदेखि शिवालय मन्दिरसम्म विगतमा देखिने चहलपहल यस वर्ष निकै न्यून देखिएको हो।
विगतका वर्षमा तीज आउनुअघि नै बजारदेखि घर–आँगनसम्म रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहल देखिन्थ्यो। दिदीबहिनी भेटघाट गर्ने, दर खाने र तीजका गीतमा रमाउने चलन थियो। तर यस वर्ष भने भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोको पीडाका कारण तीजको उत्साहमा कमी आएको स्थानीय महिलाहरू बताउँछन्।
भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि धेरै परिवार शोक, पीडा र अनिश्चिततामा रहेका कारण तीजलाई धुमधामका साथ मनाउन नसकिएको पर्सागढी–३ की माइती निवासी अस्मिता आचार्यले बताइन्।
“आफन्त गुमाएका र घरबारविहीन भएका परिवारको पीडा सम्झिँदा तीजमा विगतजस्तो रमाउन मनले मानेन,” उनले भनिन्।
त्यस्तै, पर्सागढी–३ कै माइती निवासी सीता सापकोटाले पनि देश नै शोकमा डुबेको अवस्थामा तीजलाई भड्किलो रूपमा मनाउन नसकिने बताइन्। उनका अनुसार गाउँघरमा दिदीबहिनीहरू सामान्य रूपमा मन्दिरमा जम्मा भएर पूजा–पाठ तथा सामान्य नाचगान गरी तीज मनाएका छन्।
यस वर्ष पर्सागढीका सबैया, बडनिहार, मनवा लगायतका क्षेत्रमा विगतमा जस्तो ठूला मञ्च बनाएर तीज कार्यक्रम आयोजना गरिएको देखिएन। शिवालय मन्दिरहरूमा समेत सीमित महिलाको उपस्थितिमा पूजा–पाठ र सामान्य नाचगान मात्रै भएको स्थानीय कल्पना उप्रेतीले जानकारि दिनुभयाे ।



COMMENTS