स्थानीयका अनुसार भारतको इनर्वा र भङ्गाहाबाट राति १० देखि बिहान ४ बजेसम्म २० देखि ३० वटा मोटरसाइकलमा कुखुरा लोड गरी नेपाल ल्याउने गरिएको छ । भारतबाट ल्याइएका कुखुरा महुवन, डकैला बहुअरी, जानकीटोला, सेढवा, बडनिहार, श्रीपुर पंचगावाँ, रङ्गपुरलगायतका बजारमा बिक्री हुने गरेको बताइएको छ ।
छिपहरमाई गाउँपालिका–१ भिस्वामा प्रहरी युनिटबाट करीब एक सय मिटरको दूरीमा रहेको कुखुरा फार्मबाट समेत भारतीय कुखुराको ओसारपसार भइरहेको स्थानीयले आरोप लगाएका छन् । उनीहरूका अनुसार राति तथा बिहान भारतबाट ल्याइएका कुखुरा फार्ममा राख्ने र पछि नेपाली कुखुरा भन्दै बिक्री गर्ने गरिएको छ । स्थानीय विकास पटेलले भिस्वाबाट त्यस्ता कुखुरा पोखरिया, लङ्गडीलगायतका हाटबजारसम्म पुग्ने गरेको बताए ।
कुखुरा बोकेका मोटरसाइकल तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय नरेन्द्र पटेलले बताए । भारतबाट अवैधरूपमा ल्याइएका कुखुराका कारण बर्डफ्लुजस्ता सङ्क्रामक रोग फैलिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
यता, बिओपी भिखमपुरका प्रहरी नायब उपरीक्षक भानबहादुर कार्कीले आफूलाई दुई दिन अघि मात्र यसबारे जानकारी आएको बताए । उनले निगरानी बढाइएको जनाउँदै बुधवार दुईवटा मोटरसाइकलमा लोड कुखुरासहित दुईजना व्यापारीलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको जानकारी दिए ।
तर बिओपी जीराभवानी र प्रहरी चौकी महादेवपट्टि बलुवाको अगाडिबाटै कुखुरा, किराना, कपडा तथा भैंसीको ओसारपसार हुने गरेको आरोप लागेपछि स्थानीयले सीमामा प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले सम्भावित मिलेमतोबारे निष्पक्ष छानबीन गरी तस्करी नियन्त्रण गर्न माग गरेका छन् ।

COMMENTS