Menu

पर्साका ग्रामीण सीमावर्ती नाकाबाट भारतीय कुखुराको तस्करी हुँदै

जनआवाज खबर |
September 14, 2026
Featured

धर्मेन्द्र चौरसिया, पोखरिया,२९ भदौ/ पर्साका ग्रामीण सीमावर्ती नाकामा प्रहरीको निगरानी कमजोर बनेको भन्दै भारतबाट अवैधरूपमा कुखुरा, भैंसी, किराना तथा कपडाको ओसारपसार बढेको स्थानीयले गुनासो गरेका छन् । विशेषगरी जीराभवानी गाउँपालिका–१ स्थित बलुवा महादेवपट्टि नाकाबाट रातको समयमा ठूलो परिमाणमा भारतीय कुखुरा नेपाल भित्रिने गरेको उनीहरूको दाबी छ ।

स्थानीयका अनुसार भारतको इनर्वा र भङ्गाहाबाट राति १० देखि बिहान ४ बजेसम्म २० देखि ३० वटा मोटरसाइकलमा कुखुरा लोड गरी नेपाल ल्याउने गरिएको छ । भारतबाट ल्याइएका कुखुरा महुवन, डकैला बहुअरी, जानकीटोला, सेढवा, बडनिहार, श्रीपुर पंचगावाँ, रङ्गपुरलगायतका बजारमा बिक्री हुने गरेको बताइएको छ ।

छिपहरमाई गाउँपालिका–१ भिस्वामा प्रहरी युनिटबाट करीब एक सय मिटरको दूरीमा रहेको कुखुरा फार्मबाट समेत भारतीय कुखुराको ओसारपसार भइरहेको स्थानीयले आरोप लगाएका छन् । उनीहरूका अनुसार राति तथा बिहान भारतबाट ल्याइएका कुखुरा फार्ममा राख्ने र पछि नेपाली कुखुरा भन्दै बिक्री गर्ने गरिएको छ । स्थानीय विकास पटेलले भिस्वाबाट त्यस्ता कुखुरा पोखरिया, लङ्गडीलगायतका हाटबजारसम्म पुग्ने गरेको बताए ।

कुखुरा बोकेका मोटरसाइकल तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय नरेन्द्र पटेलले बताए । भारतबाट अवैधरूपमा ल्याइएका कुखुराका कारण बर्डफ्लुजस्ता सङ्क्रामक रोग फैलिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

यता, बिओपी भिखमपुरका प्रहरी नायब उपरीक्षक भानबहादुर कार्कीले आफूलाई दुई दिन अघि मात्र यसबारे जानकारी आएको बताए । उनले निगरानी बढाइएको जनाउँदै बुधवार दुईवटा मोटरसाइकलमा लोड कुखुरासहित दुईजना व्यापारीलाई नियन्त्रणमा लिएर भन्सार बुझाइएको जानकारी दिए ।

तर बिओपी जीराभवानी र प्रहरी चौकी महादेवपट्टि बलुवाको अगाडिबाटै कुखुरा, किराना, कपडा तथा भैंसीको ओसारपसार हुने गरेको आरोप लागेपछि स्थानीयले सीमामा प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् । उनीहरूले सम्भावित मिलेमतोबारे निष्पक्ष छानबीन गरी तस्करी नियन्त्रण गर्न माग गरेका छन् ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments


देश $type=triple-post$count=3

सामाजिक $type=triple-post$count=9

AD

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3