बिरुवागुठी, २७भदौ / पर्साको पर्सागढी नगरपालिका–४ बर्वाटाडीमा धार्मिक, सांस्कृतिक तथा पौराणिक महत्व बोकेको कंस बध मेला सम्पन्न भएको छ।
भगवान कृष्णको छठियारका दिन कृष्ण र बलरामले कंसको वध गरी असत्यमाथि सत्यको विजय गरेको धार्मिक मान्यताको स्मरण गर्दै हरेक वर्ष कंस बध मेला आयोजना हुँदै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुशील साह कानुले विभिन्न जातजाति तथा समुदायको सहभागितामा हुँदै आएको कंस बध मेलाले सामाजिक एकता, सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेको बताए।
उनले जातीयताको नाममा समाजमा द्वन्द्व निम्त्याउनेहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमबाट पाठ सिक्नुपर्ने बताए । अन्य मेलाभन्दा फरक पहिचान बोकेको कंस बध मेलाले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै यसको संरक्षणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले धर्म तथा संस्कृतिको संरक्षणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए। सबैको साथ र सहयोगमा आयोजना हुँदै आएको यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले पर्सागढी नगरपालिकालाई देशभर चिनाउन समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मेला व्यवस्थापन समितिका अध्यक्ष आलोक कुमार सिंहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडाध्यक्ष शेख खुर्सेद आलम, डा. चन्द्रभूषण सिंह, विनोद यादव, चन्दन यादव र रामप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आयोजकका अनुसार बर्वाटाडीमा २०२२ सालदेखि महावीरी झण्डा मेलाका रूपमा लाग्दै आएको थियो। पछि २०४५ सालदेखि श्रीकृष्ण जन्माष्टमीको छठियारका अवसरमा कंसको मूर्ति बनाई हात्तीमार्फत कृष्ण र बलरामले कंसको वध गर्ने परम्परा सुरु भएको हो। स्वर्गीय गुजेश्वर सिंहले कंसको मूर्ति निर्माण गरी यो परम्पराको सुरुवात गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा साबिर मियाँ अन्सारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण बलिराम शुक्लाले गरेका थिए।


COMMENTS