बलिराम शुक्ला , बिरुवागुठि२७ भदौ /डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले जिल्लामा सबैभन्दा बढी काठ चोरी हुने क्षेत्रका रूपमा सबैया साझेदारी वन र बिन्दबासिनी कोईलाभार साझेदारी वन क्षेत्र रहेको बताएका छन्।
बिन्दबासिनी कोईलाभार साझेदारी वन उपभोक्ता समूहले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै वन प्रमुख अहमदले वन क्षेत्रमा हुने चोरी–तस्करीमा वन कर्मचारीको गतिविधिबारे तस्करहरू जानकार रहने गरेको बताए।
वन कर्मचारी कुन नाकाबाट वन क्षेत्रमा प्रवेश गर्छन्, कुन बाटो भएर आवतजावत गर्छन् तथा कुन समयमा कर्मचारी वन क्षेत्रमा हुन्छन् वा हुँदैनन् भन्ने जानकारी समेत तस्करलाई हुने गरेको उनले बताए। स्थानीय स्तरका केही कर्मचारीकै कारण पनि वन क्षेत्रमा काठ चोरी–तस्करी हुने गरेको उनको भनाइ थियो।
अहमदले वन कार्यालयको मुख्य जिम्मेवारी तीनवटा रहेको बताए। उनका अनुसार पहिलो वन संरक्षण, दोस्रो वन व्यवस्थापन तथा उत्पादन र तेस्रो वन विकास हो यसैमा रहेर काम गर्नु पर्छ ।
उनले वन कार्यालय र साझेदारी वनबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिँदै वन कार्यालय र साझेदारी वनको सहकार्य र समन्वयबाट मात्रै वन संरक्षणलाई प्रभावकारी बनाउन सकिने बताए।
बन प्रमुख अहमद पर्सामा दुई बर्ष कार्यकाल बिताई सरुवा भएर रौतहट जिल्ला वन कार्यालयमा गएका छन्।

COMMENTS