पोखरिया २५ भदौ/ पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट प्रहरीले १८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार राति विशेष सूचनाका आधारमा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका–४ का सुरज यादव र दुःखी महतो नुनिया रहेका छन्।
प्रहरीका अनुसार उनीहरूसँगै रहेका अन्य तीन जना भने प्रहरी टोलीलाई देखेपछि घटनास्थलबाट फरार भएका थिए। फरार तीनै जनाको पहिचान भइसकेको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले घटनाको थप अनुसन्धानसँगै फरार व्यक्तिहरूको खोजी तथा लागूऔषध कारोबारको सम्भावित सञ्जालबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।


COMMENTS