रौतहट,२६ असोज / बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै अनलाइन माध्यमबाट ‘केवाईसी (KYC) अपडेट’ गर्ने बहानामा सेवाग्राहीको खाताबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले २०८३ असोज २३ गते अपराह्न करिब ४ बजे गौर नगरपालिका–३, पोखरिया टोल र वडा नं. ५, कोईरी टोलबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्ला, बैरगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ निवासी १८ वर्षीय नितेश कुशवाहा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए। त्यसक्रममा केवाईसी अपडेट गर्नुपर्ने भन्दै मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपी (OTP) लगायतका गोप्य बैंकिङ विवरण प्राप्त गरी सेवाग्राहीको बैंक तथा डिजिटल वालेट खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
नगददेखि बैंकिङ कागजातसम्म बरामद
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरेको छ। त्यस्तै, मोबाइल फोन ७ थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटीएम कार्ड ३ थान र चेक २ थान बरामद गरिएको छ।
बरामद गरिएका चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेको प्रहरीले जनाएको छ। यसका अतिरिक्त चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका पर्चालगायतका सामग्रीसमेत फेला परेका छन्।
प्रहरीका अनुसार हालसम्म केवाईसी अपडेट गर्ने बहानामा विभिन्न सेवाग्राहीबाट कुल ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।
पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनलाइन ठगीबाट जोगिन सावधानी अपनाउन आग्रह
बैंक वा डिजिटल वालेटका कर्मचारी भएको दाबी गर्दै फोन वा भिडियो कलमार्फत केवाईसी अपडेट गर्न लगाउने, मोबाइलको स्क्रिन सेयर गर्न आग्रह गर्ने वा ओटीपी तथा अन्य गोप्य बैंकिङ विवरण माग्ने व्यक्तिबाट सावधान रहन आवश्यक छ। यस्ता विवरण अपरिचित व्यक्तिलाई उपलब्ध नगराउन र शंकास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्न सेवाग्राहीलाई सचेत रहन आग्रह गरिन्छ।

COMMENTS