पोखरिया,२५ असोज / नवदुर्गा भवानीको पूजाका लागि निकालिएको कलश यात्रामा ठूलो आवाजमा DJ बजाएर ध्वनि प्रदूषण गरेको भन्दै इलाका प्रहरी कार्यालय पोखरियाले एक DJ नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडेको छ।
पर्साको पोखरिया नगरपालिका–९, सिवरवास्थित अञ्जली साउन्ड DJ ले कलश यात्राका क्रममा अत्यधिक ठूलो आवाजमा ध्वनि बजाएको गुनासो आएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले पहिलो पटकका लागि सम्झाइबुझाइ गरी छाडेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त आचार्यले जानकारी दिए।
धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा अत्यधिक ठूलो आवाजमा DJ बजाउँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले ध्वनि प्रदूषण नियन्त्रणमा ध्यान दिन आग्रह गरेको छ।
विशेषगरी मुटुरोग तथा उच्च रक्तचाप (बीपी) का बिरामी, वृद्धवृद्धा, बालबालिका र अन्य संवेदनशील व्यक्तिलाई ठूलो आवाजले असहज बनाउनुका साथै तनाव र स्वास्थ्यसम्बन्धी समस्या बढाउन सक्ने जोखिम रहन्छ।
धार्मिक आस्था र सांस्कृतिक परम्पराको सम्मान गर्दै अरूको स्वास्थ्य, शान्ति र सुविधालाई समेत ध्यानमा राखेर ध्वनि बजाउनुपर्ने आवश्यकता देखिएको छ। चाडपर्व तथा धार्मिक कार्यक्रमलाई मर्यादित बनाउन अत्यधिक आवाजमा DJ बजाउने कार्य नियन्त्रण गर्न स्थानीय प्रशासन र प्रहरीले निगरानी बढाउनुपर्ने स्थानीयवासीको अपेक्षा छ।

COMMENTS