बलिराम शुक्ला , बिरुवागुठि,२१ असोज/ लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका डा. कृपासिन्धु चौधरी फेरि पुरानै राजनीतिक घर फर्किएका छन्। कांग्रेस छाडेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुगेका चौधरी बुधबार पुनः नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट टीका लगाउँदै चौधरीले पार्टीमा पुनरागमन गरेका हुन्। उनलाई कांग्रेस पर्साका देउवा निकट नेता विजय कर्णले देउवासँग भेट गराएर पार्टीमा फर्काएका हुन्।
पर्साको कांग्रेस राजनीतिमा लामो समय सक्रिय चौधरीले पार्टीभित्र नेतृत्व तहबाट आफूहरूलाई बेवास्ता गरिएको र केही नेताहरूको प्रभाव हाबी भएको भन्दै कांग्रेसबाट अलग भएका थिए। त्यसपछि जसपा नेपालमा प्रवेश गरेका उनी पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत बनेका थिए। तर निर्वाचनमा उनी पराजित भए।
विद्यार्थी राजनीतिबाट कांग्रेससँग जोडिएका चौधरी ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुँदै कांग्रेसको मूलधारमा आएका थिए। शिक्षण तथा शैक्षिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाएका उनी लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहे।
पार्टीबाट बाहिरिएर अर्को दलमा पुगेका चौधरी पुनः कांग्रेसमै फर्किनुलाई पर्साको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेसभित्र अहिले नेतृत्वलाई लिएर दुई धार देखिएको अवस्थामा चौधरीको पुनरागमनले देउवा निकट समूहलाई पर्सामा थप राजनीतिक बल पुग्ने कांग्रेस निकट नेताहरूको बुझाइ छ।
चौधरीको पुनरागमनले आगामी पार्टी अधिवेशनमा पर्साको कांग्रेसभित्रको शक्ति समीकरणमा समेत प्रभाव पार्न सक्ने नेताहरूको आकलन छ।

COMMENTS