वीरगञ्ज,१८असोज /कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा डा. दिलिप कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रहेका कुशवाहा एमालेमा प्रवेश गरेसँगै आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने चर्चा सुरु भएको छ।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा र कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले संयुक्त रूपमा टीका तथा माला लगाएर कुशवाहालाई पार्टीमा स्वागत गरेका हुन्।
कालिकामाई गाउँपालिका–२, भेडिहारी निवासी डा. कुशवाहा यसअघि नेपाली कांग्रेसमा सक्रिय थिए। उनी स्वर्गीय नाथुनी कुशवाहाका छोरा हुन्। नाथुनी कुशवाहा कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष थिए।
पार्टी प्रवेशपछि आगामी निर्वाचनमा डा. कुशवाहालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने विषयले स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ। गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले डा. कुशवाहा आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार रहने बताएका छन्।
कुशवाहाको एमाले प्रवेशलाई कालिकामाई गाउँपालिकाको आगामी निर्वाचनसँग जोडेर हेरिएको छ। उनको प्रवेशले गाउँपालिकाको स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुँदै जानेछ।
पार्टी प्रवेश कार्यक्रममा कालिकामाई गाउँपालिका–२ का वडाध्यक्ष सोनालाल चौरसिया, वडाध्यक्षका प्रत्याशी जितेन्द्र कलवारलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

COMMENTS