ठोरी, २५ असोज /पर्साको ठोरी गाउँपालिका–२, इच्छानगरमा जंगली हात्तीको आक्रमणबाट २० वर्षीया युवती घाइते भएकी छन् ।
घाइते हुनेमा इच्छानगरकी स्वस्तिका पर्जा रहेकी छन् । आइतबार साँझ करिब ५ः३० बजे गौतमनगरबाट आफ्नो घर इच्छानगरतर्फ जाने क्रममा बाटोमा अचानक हात्तीसँग जम्काभेट हुँदा उनी आक्रमणमा परेकी हुन् ।
हात्तीले उचालेर नजिकैको धानबारीमा फालेपछि आफू घाइते भएको पर्जाले बताएकी छन् । घटनापछि हात्ती जंगलतर्फ लागेको उनले जानकारी दिइन् ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक मिलन विकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले घाइते पर्जाको उद्धार गरी प्रहरीकै गाडीमार्फत ठोरीको गौतमनगरस्थित एक निजी क्लिनिकमा पुर्याएको थियो ।
क्लिनिकमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । घाइतेको बाहिरी अवस्था सामान्य देखिए पनि भित्री चोट लागेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
ठोरी क्षेत्रमा जंगली हात्तीको आवतजावतका कारण स्थानीय बासिन्दा जोखिममा पर्दै आएका छन् । विशेषगरी साँझको समयमा आवतजावत गर्दा सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

COMMENTS