पोखरिया, २१असोज/ पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ जाँदै गरेको एम्बुलेन्सलाई माडी–ठोरी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बगही सुरक्षा पोस्ट नजिकैको खोल्सामा आएको बाढीले बगाएको छ।
बिहानैदेखि परेको अविरल वर्षाका कारण खोल्सामा अचानक बाढी आएपछि बिरामी बोकेर माडीतर्फ जाँदै गरेको एम्बुलेन्स भेलमा परेको हो। तीव्र बहावका कारण एम्बुलेन्स पल्टिएर केही तलसम्म बगेको थियो।
एम्बुलेन्समा बिरामीसहित चालक र अन्य गरी तीन जना सवार रहेका थिए। उनीहरू सबै सकुशल रहेको बताइएको छ। घटनालगत्तै गरिएको उद्धार प्रयासपछि एम्बुलेन्समा सवार सबैलाई सुरक्षित निकालिएको हो।
बाढीले बगाएको एम्बुलेन्सलाई जेसीबीको सहयोगमा खोल्साबाट निकालिएको छ। वर्षाका कारण माडी–ठोरी सडकखण्डका विभिन्न स्थानमा खोल्सा तथा नदीमा पानीको बहाव बढेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

COMMENTS