धर्मेन्द्रचौरसिया,पोखरिया,२५असोज/ विरगंज महानगर पालिकाले नाला तथा पानी निकासका लागि गरेको काम व्यवस्थित नहुँदा हुलाकी सडक अन्तर्गत छपकैया क्षेत्रदेखि आइसिपी गेटसम्मको सडक हिलाम्मे र धुलाम्मे बनेको छ । सडकमा माटो थुपारिएपछि आवागमनमा समस्या हुनुका साथै सवारीसाधन जाममा पर्ने गरेका छन् ।
स्थानीयका अनुसार केही दिन अघि आइसिपीको उत्तरतर्फ रहेको जग्गाको पानी निकासका लागि महानगरपालिकाले कुलो निर्माण गरी त्यसबाट निस्किएको माटो सडकमा थुपारेको थियो । व्यस्त सडकमा माटो थुपार्दा सडक साँघुरो भएको र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ ।
वर्षा हुँदा सडक हिलाम्मे हुने र घाम लाग्दा धूलो उड्ने समस्याले चालक तथा यात्रुहरू हैरान भएका छन् । सडकको अवस्थाका कारण हलुका सवारीसाधन दुर्घटनामा पर्ने जोखिमसमेत बढेको स्थानीयको भनाइ छ ।
आइसिपीको उत्तरतर्फ रहेको सुगौली आसपासका सयौं बिघा खेतीयोग्य जमीनमा पानी निकास नहुँदा बर्सेनि डुबानको समस्या हुने गरेको थियो । कुलो निर्माणपछि पानी निकासमा सहजता आएको र स्थानीयले राहत महसूस गरेको बताइएको छ ।
तर, पानी निकासको समस्या समाधान गर्ने क्रममा सडकमा माटो थुपारिएपछि अर्को समस्या सिर्जना भएको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार कुलो निर्माण आवश्यक भए पनि सडकमा थुपारिएको माटो हटाउने, सडक सम्याउने र पानी निकासको उचित व्यवस्थापन गर्ने काममा ध्यान दिनुपर्छ ।
स्थानीयले महानगरपालिकासँग सडकलाई तत्काल व्यवस्थित गर्न, आवागमन सहज बनाउन र वर्षा तथा धूलोका कारण उत्पन्न जोखिम न्यूनीकरण गर्न माग गरेका छन् ।

COMMENTS