धर्मेन्द्र चौरसिया, पोखरिया, २७ असोज/ पर्साको छिपहर माई गाउँपालिकामा छैटौँ तहका लेखा अधिकृत मेघराज साह रौनियार कार्यरत हुँदाहुँदै पोखरिया नगरपालिकाका सोही तहका लेखा अधिकृत रामबीर प्रसाद चौरसियालाई थप जिम्मेवारी दिइएको छ। यस निर्णयले गाउँपालिकाको कर्मचारी व्यवस्थापन र प्रशासनिक निष्पक्षतामाथि प्रश्न उठाएको छ।
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ असोज २६ गतेको निर्णयअनुसार चौरसियालाई अर्को व्यवस्था नभएसम्म छिपहरमाई गाउँपालिकामा लेखासम्बन्धी काम गर्ने जिम्मेवारी तोकेको हो।
२०७६ साल पुसदेखि छिपहरमाईमा कार्यरत रौनियार बढुवा भएर छैटौँ तहमा पुगे पनि आफूलाई पदअनुसारको जिम्मेवारी नदिइएको गुनासो गर्दै आएका छन्। उनले जिम्मेवारीको माग गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालयमा समेत निवेदन दिएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित कुमार झाले रौनियारसँग स्थानीय तहमा प्रयोग हुने सूत्र प्रणाली सञ्चालनको व्यावहारिक अनुभव पर्याप्त नभएको आफ्नो बुझाइ रहेको बताएका छन्। गाउँसभा सम्पन्न भएको र तलब भुक्तानी लगायतका कामको चाप रहेकाले वैकल्पिक कर्मचारी ल्याउन सहमति दिएको उनको भनाइ छ। रौनियारलाई करिब दुई महिनापछि जिम्मेवारी दिने योजना रहेको पनि उनले बताए।
तर, गाउँपालिकामै सोही तहका लेखा अधिकृत हुँदाहुँदै अर्को पालिकाका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने आवश्यकता र त्यसको प्रशासनिक आधारबारे स्पष्टता आएको छैन।
कर्मचारीको कार्यक्षमता र अनुभवमा प्रश्न भए त्यसको वस्तुगत मूल्याङ्कन तथा जिम्मेवारी बाँडफाँटको आधार सार्वजनिक गर्नुपर्ने देखिन्छ। सम्बन्धित निकायले निर्णयको औचित्य स्पष्ट पार्दै कर्मचारी व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम गर्न आवश्यक छ।

COMMENTS