धर्मेन्द्र चौरसिया, पोखरिया, २८ असोज/पर्साको पोखरिया प्रादेशिक अस्पतालमा चार महिनादेखि प्रसूति सेवाअन्तर्गतको शल्यक्रिया (अपरेसन) सेवा बन्द हुँदा गर्भवती महिला तथा उनका परिवारले सास्ती खेप्नुपरेको छ। आवश्यक चिकित्सक तथा जनशक्तिको अभावमा अपरेसन सेवा ठप्प भएपछि स्थानीय सेवाग्राही महँगो शुल्क तिरेर निजी अस्पताल तथा वीरगन्जका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्।
अस्पताल स्रोतका अनुसार दैनिक पाँचदेखि छ जनासम्म गर्भवती महिला प्रसूति सेवा लिन अस्पताल आउने गरेका छन्। तर, शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्थामा आवश्यक चिकित्सकको अभावका कारण सेवा दिन नसकिएको स्रोतले जनाएको छ। यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ग्रामीण क्षेत्रका गर्भवती महिलालाई थप समस्या पारेको छ।
यसअघि पोखरिया अस्पतालमा निक साइमन संस्थाको सहयोगमा स्त्रीरोग तथा प्रसूति सेवाअन्तर्गतको कार्यक्रम सञ्चालन हुँदै आएको थियो। उक्त कार्यक्रममार्फत गर्भवती महिलालाई आवश्यक सेवा उपलब्ध गराइँदै आएकोमा अस्पताल १५ शय्याको संस्थाबाट प्रादेशिक अस्पतालमा परिणत भएपछि निक साइमनले सहयोग गर्दै आएको कार्यक्रम बन्द भएको बताइएको छ।
निक साइमनले १५ शय्याको अस्पताललाई लक्षित गरी सहयोग गर्ने व्यवस्था रहेकाले अस्पतालको संरचना परिवर्तन भएपछि कार्यक्रम निरन्तर हुन नसकेको जनाइएको छ। तर, कार्यक्रम बन्द भएपछि वैकल्पिक व्यवस्था गरी सेवा सञ्चालन गर्नुपर्ने प्रदेश सरकार तथा स्थानीय सरकारले आवश्यक पहल नगर्दा सर्वसाधारणले यसको प्रत्यक्ष मार खेप्नुपरेको छ।
पोखरिया क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको अस्पतालमै प्रसूति शल्यक्रिया सेवा बन्द हुनु चिन्ताको विषय बनेको छ। सामान्य प्रसूति सेवा लिन अस्पताल पुग्ने महिलाले जटिल अवस्था आएमा अन्यत्र जानुपर्ने बाध्यता छ। समयमै उपचार नपाउँदा गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा समेत जोखिम बढ्न सक्ने देखिन्छ।
स्थानीयवासीले अस्पतालमा आवश्यक स्त्रीरोग विशेषज्ञ, एनेस्थेसिया सेवा र अन्य जनशक्तिको व्यवस्था गरी तत्काल अपरेसन सेवा सञ्चालन गर्न प्रदेश सरकार तथा पोखरिया नगरपालिकासँग माग गरेका छन्। गर्भवती महिलाको स्वास्थ्य र सुरक्षासँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील सेवा लामो समयसम्म बन्द रहनु उचित नभएकाले सम्बन्धित निकायले तत्काल ध्यान दिन आवश्यक छ।

COMMENTS