बिरुवा गुठी २६ असोज/ पर्साको सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्टले व्यक्तिगत स्वार्थ र अनावश्यक दबाबका कारण गाउँपालिकाको विकास निर्माण तथा सेवा प्रवाह प्रभावित भएको आरोप लगाएकी छन्।
आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रक्रिया गाउँसभाबाट सम्पन्न भइसकेपछि पनि व्यक्तिगत स्वार्थ, इच्छा र आकांक्षाका कारण गाउँपालिकाको कामकाजमा अवरोध सिर्जना भइरहेको उनको भनाइ छ।
गाउँपालिका अध्यक्षलाई सम्बोधन गर्दै जारी गरिएको ध्यानाकर्षण पत्रमा उपाध्यक्ष विष्टले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले लामो समयदेखि तलब, भत्ता र अन्य सुविधा पाउन नसकेको उल्लेख गरेकी छन्। व्यक्तिगत स्वार्थका कारण गाउँपालिकाको खाता सञ्चालनमा समेत समस्या आएको भन्दै उनले विकास निर्माणका योजना, कार्यक्रम तथा वडा र पालिकास्तरीय काम प्रभावित भएको बताएकी छन्।
पत्रमा चाडपर्व नजिकिँदै गर्दा समेत सम्बन्धित कर्मचारीले तलब, भत्ता तथा अन्य सुविधा पाउन नसकेको उल्लेख गर्दै गाउँपालिकाको सेवा प्रवाह सहज बनाउन तत्काल पहल गर्न अध्यक्षसँग आग्रह गरिएको छ।
उपाध्यक्ष विष्टले गाउँपालिकाको एम्बुलेन्स निःशुल्क सञ्चालन गर्ने घोषणा भए पनि इन्धन अभावका कारण सञ्चालनमा समस्या भइरहेको उल्लेख गरेकी छन्। व्यक्तिगत स्वार्थका कारण शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रसमेत प्रभावित हुन सक्ने भन्दै उनले पालिकाको बजेट तथा खाता सञ्चालनलाई सहज बनाउन आग्रह गरेकी छन्।
उनले व्यक्तिगत स्वार्थ, रिसइबी र घमण्ड त्यागेर गाउँपालिकाको विकास, जनताको सेवा र शान्तिपूर्ण वातावरण कायम गर्न सबै पक्षलाई सहयोग गर्न अपिल गरेकी छन्।

COMMENTS