पोखरिया, २४ असोज/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुरुषोत्तम यादवले पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरमा रहेका सार्वजनिक जग्गा तथा मन्दिरहरूको आज अनुगमन गरेका छन्।
बसन्तपुरमा रहेका मन्दिरका जग्गा तथा अन्य सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै स्थानीय युवा तथा पार्टीका कार्यकर्ताहरूले गुनासो गरेपछि नेता यादवले स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा स्थानीयले मन्दिरको जग्गासहित सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने माग राखेका थिए। स्थानीयको गुनासो सुनेपछि नेता यादवले अतिक्रमणमा परेको भनिएका जग्गाको संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
सार्वजनिक जग्गा तथा धार्मिक स्थलका सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीयले सम्बन्धित निकायले यस विषयमा चासो दिई अतिक्रमण हटाउन आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
अनुगमनका क्रममा रास्वपाका नेता रामनाथ चौरसिया, बुनी पटेल, पोखरिया नगर अध्यक्ष दिलीप ठाकुरलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


COMMENTS