पोखरिया, २१असोज/ पर्साको पकाहाँ मैनपुर गाउँपालिकामा ६३ लाख रुपैयाँभन्दा बढी मूल्यका आधुनिक स्वास्थ्य उपकरण सञ्चालनमा नआउँदा सरकारी लगानी उपयोगविहीन बनेको छ। आवश्यक प्राविधिक र सञ्चालन खर्चका लागि बजेट नहुँदा दुई वटा अल्ट्रासाउन्ड तथा एउटा एक्स–रे मेसिन लामो समयदेखि थन्किएका छन्।
गाउँपालिकाले स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा स्वास्थ्य विभागमार्फत प्राप्त गरेका दुई वटा अल्ट्रासाउन्ड मेसिनमध्ये प्रत्येकको मूल्य २४ लाख रुपैयाँ रहेको छ। त्यस्तै, करिब १५ लाख रुपैयाँ मूल्यको एउटा एक्स–रे मेसिनसमेत पालिकामा आएको थियो। तर, ती उपकरण सञ्चालनका लागि आवश्यक बजेट विनियोजन नहुँदा स्थानीयले सरकारी स्वास्थ्य संस्थाबाटै पाउनुपर्ने सेवा पाउन सकेका छैनन्।
यसअघि स्वास्थ्य शाखा प्रमुखको पहलमा बाहिरबाट दक्ष प्राविधिक बोलाएर पालिकाका विभिन्न वडामा घुम्ती सेवा सञ्चालन गरिएको थियो। करिब दुई महिनासम्म चलेको उक्त सेवाबाट सयौँ स्थानीय लाभान्वित भएका थिए। तर, प्राविधिकको पारिश्रमिक भुक्तानी हुन नसकेपछि घुम्ती सेवा पनि बन्द भएको हो।
सेवा बन्द भएपछि उपकरणको व्यवस्थापनमा समेत प्रश्न उठेको छ। एउटा अल्ट्रासाउन्ड मेसिन स्वास्थ्य चौकी पकाहाँ मैनपुरमा राखिएको छ भने अर्को अल्ट्रासाउन्ड र करिब १५ लाख रुपैयाँ मूल्यको एक्स–रे मेसिन वडा नं. ५ का वडाध्यक्ष बलिराम चौरसियाको निजी घरमा राखिएको छ।
गाउँपालिकामा वार्षिक करिब ६ सय गर्भवती महिला स्वास्थ्य सेवा लिन आउने गरेका छन्। तीमध्ये हालसम्म २ सय ७१ जनाको सामान्य सुत्केरी गराइएको स्वास्थ्य क्षेत्रको तथ्यांक छ। स्वास्थ्य मापदण्डअनुसार गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा चार पटक अल्ट्रासाउन्ड गराउनुपर्ने हुन्छ। तर, गाउँपालिकामै उपकरण भएर पनि सेवा सञ्चालनमा नआउँदा उनीहरू निजी क्लिनिक तथा अस्पतालमा महँगो शुल्क तिर्न बाध्य छन्।
स्थानीयका अनुसार निजी स्वास्थ्य संस्थामा एक पटक अल्ट्रासाउन्ड गराउँदा कम्तीमा १ हजारदेखि ३ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ। आर्थिक रूपमा कमजोर परिवारका लागि पटक–पटक यस्तो खर्च गर्नु थप बोझ बनेको छ।
गर्भवती महिलामात्र नभई पेटसम्बन्धी समस्या तथा अन्य रोगका बिरामीका लागि समेत अल्ट्रासाउन्ड र एक्स–रे सेवा आवश्यक पर्ने भए पनि सरकारी उपकरण प्रयोगविहीन हुँदा स्थानीयले बाहिर गएर सेवा लिनुपरेको छ।
एक स्थानीय चिकित्सकका अनुसार वार्षिक करिब २ लाख रुपैयाँ बजेट छुट्याएर आवश्यक प्राविधिकको व्यवस्था गर्न सके यी उपकरण नियमित सञ्चालन गर्न सकिन्छ। करोडौँको लगानी आवश्यक पर्ने उपकरण खरिद गरेर सञ्चालनका लागि सामान्य रकमसमेत नछुट्याउनु स्थानीय सरकारको गम्भीर उदासीनता भएको स्थानीयको भनाइ छ।
स्थानीयवासीले सरकारी लगानीमा खरिद गरिएका उपकरण तत्काल स्वास्थ्य संस्थामा ल्याई नियमित सञ्चालन गर्न माग गरेका छन्। उनीहरूले उपकरणलाई निजी घरमा राख्नुको सट्टा स्वास्थ्य संस्थामै सुरक्षित व्यवस्थापन गरी नागरिकलाई निःशुल्क वा सहुलियतमा सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।
यसैबीच, केही समयअघि मात्र गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले उपकरण सञ्चालनको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। उनले आवश्यक पहल गरी बजेट व्यवस्थापन गर्ने तथा थन्किएका एक्स–रे र अल्ट्रासाउन्ड मेसिन छिट्टै सञ्चालनमा ल्याएर नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
सरकारी बजेटबाट करोडौँ रुपैयाँ बराबरका स्वास्थ्य उपकरण खरिद भए पनि सञ्चालन खर्चकै अभावमा सेवा बन्द हुनुबाट राज्यको लगानीको प्रभावकारितामाथि प्रश्न उठेको छ। स्थानीयले अब आश्वासनभन्दा तत्काल उपकरण सञ्चालन गरी सेवा सुरु गर्नुपर्ने माग गरेका छन्।

COMMENTS