बिरुवागुठी १९ असोज/भदौ १० गते आएको भोटेकोशी बाढी तथा पहिरोमा परी बेपत्ता भएका पर्सागढी नगरपालिकाका दुई जनाका परिवारलाई पर्सागढी नगरपालिका कार्यालयले आर्थिक राहत सहयोग गरेको छ।
बाढीपहिरोमा परी पर्सागढी नगरपालिका–९ एकटाङाका प्रहरी हवल्दार श्रवणकुमार यादव र पर्सागढी नगरपालिका–४ बर्वाटाडीका सवारी चालक नरेश राय बेपत्ता भएका थिए। उनीहरूको परिवारलाई नगरपालिकाले राहतस्वरूप जनही ५१-५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको नगरप्रमुख गोकर्ण पाठकले बताउनुभयो।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी हवल्दार यादवकी श्रीमती बिनिता यादव र नरेश रायकी श्रीमती सन्ध्या थापा रायलाई उक्त राहत रकम हस्तान्तरण गरिएको हो।
यसैगरी, नगरप्रमुख पाठकले २०८१ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत कबड्डी खेल्ने क्रममा खुट्टा भाँचिएर स्टिल राखेकी पर्सागढी नगरपालिका–१ स्थित नेरामावि बडेर्वाकी छात्रा समीक्षा कार्कीलाई थप उपचारका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।
नगरप्रमुख पाठकले विपदमा परेका परिवार तथा उपचार आवश्यक भएका विद्यार्थीहरुलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो।


COMMENTS