पोखरिया,१९ असोज /पर्साको जगन्नाथपुर गाउँपालिका अन्तर्गत दसौताबाट भारतको इनर्वा जाने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको विरोधमा स्थानीयवासीले चार घण्टा चक्काजाम गरेका छन्।
चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा प्रतिबन्ध लगाएपछि आक्रोशित बनेका स्थानीयवासीले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्। स्थानीयका अनुसार प्रतिबन्धका कारण सर्वसाधारणको दैनिक आवागमन प्रभावित हुनुका साथै एम्बुलेन्स र शव बोकेका सवारीसाधनसमेत आवतजावत गर्न नपाएको अवस्था छ।
अत्यावश्यक सेवासमेत प्रभावित भएको भन्दै स्थानीयवासीले तत्काल प्रतिबन्ध हटाउन माग गरेका छन्। उनीहरूले स्थानीयलाई सहज रूपमा आवतजावत गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
स्थानीयवासीले चार घण्टासम्म सडक अवरुद्ध गर्दा उक्त मार्ग भएर हुने सवारी आवागमन प्रभावित भएको थियो। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यसैबीच, माथिल्लो सुरक्षा निकायबाट यस नाकाबाट सवारीसाधनको आवागमनमा रोक लगाउन आदेश भएको कारण, सवारी साधन आवागमनमा रोक लगाइएको सशस्त्र प्रहरी बेस क्याम्प भीखमपुरले जनाएको छ।


COMMENTS