पोखरिया,९ असोज/ पर्साको पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न कच्ची सडकमा जमेको पानी हटाएर प्रहरीले सर्वसाधारणको सुरक्षित तथा सहज आवागमनका लागि सहजीकरण गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले गाउँपालिका–४ लगायतका विभिन्न स्थानमा रहेका कच्ची सडकका खाल्डाखुल्डीमा जमेको पानी हटाएको हो।
वर्षाका कारण सडकका खाल्डाखुल्डीमा पानी जम्दा पैदलयात्री तथा सवारीसाधनलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको थियो। अवस्थालाई मध्यनजर गर्दै प्रहरीले स्थानीयस्तरमा उपलब्ध साधनस्रोतको प्रयोग गरी सडकमा जमेको पानी निकास गर्ने तथा आवागमन सहज बनाउने कार्य गरेको प्रहरीले जनाएको छ।
प्रहरीको उक्त पहलपछि स्थानीयवासी तथा यात्रुहरूलाई सडकमा आवतजावत गर्न सहज भएको छ। प्रहरीले सार्वजनिक सुरक्षासँगै विपद् तथा वर्षाजन्य समस्याका बेला नागरिकलाई आवश्यक सहयोग र सहजीकरण गर्दै आएको जनाएको छ।
स्थानीयवासीले सडकमा पानी जम्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायले नाला तथा पानी निकासको उचित व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्

COMMENTS