पोखरिया, ७ असोज/ पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक आवागमन मार्गका रूपमा रहेको वीरगंज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बने पनि मर्मतसम्भार हुन सकेको छैन । सडकको दुरवस्थाका कारण दैनिक हजारौं यात्रु तथा माल वाहक सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
वीरगंजको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी), सुक्खा बन्दरगाह, परवानीपुरलगायत औद्योगिक क्षेत्रतर्फ जाने सडकका विभिन्न भागमा ठूलाठूला खाल्डाखुल्डी परेका छन् । सो सडकखण्डमा अत्यधिक भार बोकेका ट्रक, ट्याङ्कर, लरीलगायतका सवारीसाधन निरन्तर सञ्चालन हुने भएका ले सडक थप जीर्ण बन्दै गएको चालकहरू बताउँछन् ।
खाल्डाखुल्डीका कारण सवारीसाधनको गति नियन्त्रण गर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा एउटा खाल्डो छल्न खोज्दा अर्को खाल्डोमा पुग्ने अवस्था रहेको चालकहरूको गुनासो छ । रातिको समयमा सडकका खाल्डाखुल्डी स्पष्ट देखिन नसक्दा दुर्घटनाको जोखिम झनै बढ्ने उनीहरूको भनाइ छ ।
चालक रवीन्द्र पटेलले सडकको अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गए पनि मर्मतका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल नभएको बताए । उनका अनुसार सडक खराब हुँदा सवारी चलाउन जोखिमसँगै यात्रा समय पनि बढ्ने गरेको छ । गति कम गरेर चलाउँदा समय बढी लाग्छ, तीव्र गतिमा चलाउँदा दुर्घटनाको डर हुन्छ उनले भने ।
सडकको दुरवस्थाले दुर्घटनाको जोखिम मात्रै नभई सवारीसाधनको सञ्चालन खर्चसमेत बढाएको चालकहरू बताउँछन् । गहिरा खाल्डाखुल्डीमा सवारी पर्दा टायर, सस्पेन्सन, स्टेरिङलगायतका पार्टपुर्जामा क्षति पुग्ने गरेको उनीहरूको भनाइ छ।
स्थानीय नेता नेजामुद्दीन समानीले सडक प्रयोग गर्ने सवारीसाधनबाट विभिन्न शीर्षकमा कर तथा शुल्क असुल गरिए पनि सडकको नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे । सडक सुरक्षित नभएसम्म ट्राफिक व्यवस्थापन मात्रै गरेर दुर्घटनाको जोखिम कम गर्न नसकिने उनले बताए ।
वीरगंजको सुक्खा बन्दरगाह, आइसिपी तथा औद्योगिक क्षेत्रसँग जोडिएको यो सडक मालसामान ओसारपसारका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । सडक बिग्रँदा ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायी तथा यातायात क्षेत्रको लागतसमेत बढ्ने अवस्था रहेको स्थानीयको भनाइ छ । स्थानीय तथा चालकहरूले तत्काल खाल्डाखुल्डी पुर्न, जीर्ण सडकखण्डको मर्मत गर्न र दीर्घकालीनरूपमा सडक स्तरोन्नति गर्न माग गरेका छन् । साथै, सडकको नियमित अनुगमन, समयमै मर्मतसम्भार तथा अत्यधिक भार बोकेका सवारीसाधनको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।

COMMENTS