विरगंज ७ असोज/ नेपाल मौसम विज्ञान विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारी गर्दै मौसममा देखिएको प्रणालीका कारण मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो।
विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) तर्फ सर्ने क्रममा रहेको जनाइएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, सहरी डुबान तथा नदी–खोलामा पानीको सतह बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले अत्यन्त जरुरी नभएसम्म रातिको समयमा यात्रा नगर्न, खोला तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा पहिरोको जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ।
त्यस्तै, वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १११२, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायबाट जारी हुने पूर्वानुमान, पूर्वसूचना र चेतावनीलाई ध्यानपूर्वक हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरेको छ।

COMMENTS