बलिराम शुक्ला, १४ बिरुवागुठी/ पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार र बागवानाको बीचमा पर्ने जनता सडकअन्तर्गतको कटहरिया पुल जीर्ण बन्दा दुर्घटनाको जोखिम बढेको छ। पुलको माथिल्लो ढलान ठाउँ–ठाउँमा फुटेर खाल्डाखुल्डी परेका छन् भने वर्षाको पानी जम्दा सवारीसाधन तथा पैदल यात्रुलाई आवतजावतमा थप समस्या भएको छ।
पुलको सडक सतह जीर्ण भई ढलान फुट्नुका साथै ठूलो खाल्डो बनेकाले सवारीसाधन सञ्चालनमा कठिनाइ भएको स्थानीयको भनाइ छ। पुलको अवस्था दिनप्रतिदिन बिग्रिँदै गए पनि सम्बन्धित निकायले मर्मतसम्भारमा चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।
पर्साको उत्तरी भेगलाई पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी हुँदै जितपुर–सिमरा र वीरगन्जसँग जोड्ने व्यस्त ग्रामीण सडकमा पर्ने उक्त पुल जीर्ण हुँदा दैनिक आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
पर्सागढी नगरपालिका–३ बडनिहार निवासी सञ्जय साह सोनारका अनुसार पुलको अवस्था अत्यन्त जीर्ण भएकाले दुर्घटनाको जोखिम बढेको छ। समयमै मर्मत नगरिए आगामी दिनमा पुलमा थप क्षति भएर आवतजावत नै ठप्प हुन सक्ने उनले बताए।
स्थानीयले पुलको तत्काल निरीक्षण गरी आवश्यक मर्मत तथा पुनःनिर्माण गर्न सडक विभाग र सम्बन्धित स्थानीय तहसँग माग गरेका छन्। समयमै ध्यान नदिए पुलमा ठूलो क्षति पुग्न सक्ने र त्यसबाट सर्वसाधारणको आवतजावत प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने स्थानीयको भनाइ छ।

COMMENTS