बलिराम शुक्ला, बिरुवागुठी १० असोज / बिहीबार बिहानैदेखि परेको अविरल वर्षाका कारण पर्साको पर्सागढी नगरपालिका लगायत ग्रामीण क्षेत्रमा लगाइएको धानबालीलाई फाइदा पुगेको किसानहरूले बताएका छन्।
विशेषगरी अहिले चाँडो पाक्ने हाइब्रिड तथा कतर्नी जातको धान पसाउने समय भएकाले वर्षाले धानबालीलाई आवश्यक पानी उपलब्ध गराएको किसानहरूको भनाइ छ। धान पसाउने समयमा पर्याप्त पानी आवश्यक पर्ने भएकाले अहिलेको वर्षा धानबालीका लागि ‘अमृत’सरह भएको पर्सागढीका किसान नन्दलाल चौधरीले बताए।
उनका अनुसार धान पसाउने समयमा आवश्यक मात्रामा पानी परेकाले यसले धानको वृद्धि र उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। वर्षाका कारण किसानहरू पनि उत्साहित भएका छन्।
यस्तै, पर्सागढी नगरपालिका–३ का किसान खगेश्वर पौडेलले पछिल्लो समय धानबालीमा रोग तथा किराको प्रकोप देखिन थालेको अवस्थामा वर्षाले त्यसलाई केही हदसम्म न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।
कृषि प्राविधिक शिवपूजन महतोका अनुसार चाँडो पाक्ने वा ढिलो पाक्ने जुनसुकै जातको धानबालीका लागि अहिलेको वर्षा लाभदायक देखिएको छ। धान पसाउने समयमा आवश्यक पानी उपलब्ध हुँदा बालीको विकासमा सहयोग पुग्नुका साथै वर्षाका कारण केही रोग तथा किराको प्रकोपसमेत न्यूनीकरण हुन सक्ने उनले बताए।
वर्षा भएपछि खेतमा पर्याप्त चिस्यान कायम भएकाले धानबालीलाई थप राहत पुगेको किसानहरूको भनाइ छ।

COMMENTS