पोखरिया, ८ असोज / पर्साको ठोरी गाउँपालिका–१ जानकीनगरकी सुमित्रा खत्रीको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतकका श्रीमान् प्रविन खत्रीकी नाताले दिदी पर्ने गुना भण्डारी रहेकी जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले भण्डारीलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनासँग सम्बन्धित विषयमा अनुसन्धान गर्न भण्डारीलाई नियन्त्रणमा लिइएको हो। उनका अनुसार भण्डारीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
मृतकका भाइ रोहन कुँवरका अनुसार परिवारका सदस्यबाट भएको भनिएको मानसिक यातनाका कारण सुमित्राले आत्महत्याको बाटो रोजेको हुन सक्ने भन्दै माइती पक्षले उनका श्रीमान् प्रविन खत्री र गुना भण्डारीविरुद्ध किटानी जाहेरी दिएको छ।
माइती पक्षको दाबीअनुसार सुमित्राले भण्डारीबाट पटक–पटक मानसिक यातना भोग्नुपरेको बताउँदै आएकी थिइन्। विदेशमा रहेका श्रीमान्लाई आफूविरुद्ध गलत सूचना दिएर दाम्पत्य सम्बन्ध बिगार्न खोजिएको गुनासोसमेत उनले परिवारका सदस्यसँग गरेको कुँवरले बताएका छन्।
भण्डारी ठोरी गाउँपालिका–१ मा कार्यालय सहयोगी पदमा कार्यरत रहेको बताइएको छ।
कुँवरका अनुसार सुमित्राले आफूले भोगेको भनिएको मानसिक यातनाबारे यसअघि नै परिवारका सदस्यलाई जानकारी गराएकी थिइन्। घटनाको निष्पक्ष र विस्तृत अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न माइती पक्षले माग गरेको छ।
यसैबीच, घटनामा आरोपित सुमित्राका श्रीमान् प्रविन खत्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। प्रविन हाल विदेशमा रहेको बताइएको छ।
पारिवारिक स्रोतका अनुसार सुमित्रा र प्रविन एउटै गाउँका हुन्। लामो समय प्रेम सम्बन्धमा रहेपछि उनीहरूले करिब १२ वर्षअघि विवाह गरेका थिए। उनीहरूकी एक छोरीसमेत रहेको बताइएको छ।
रोजगारीका क्रममा प्रविन लामो समय विदेशमा रहेपछि दम्पतीबीच सम्बन्धमा तनाव बढेको माइती पक्षको भनाइ छ। परिवारका अनुसार प्रविन करिब चार वर्ष दुबई बसेपछि पछिल्लो अढाई वर्षदेखि कुवेतमा कार्यरत छन्।
माइती पक्षले विदेशमा रहेका प्रविनले सुमित्रासँग सम्पर्कका क्रममा शंका गर्ने, विवाद गर्ने तथा मानसिक दबाब दिने गरेको आरोप लगाएको छ। यद्यपि यी आरोपहरूको स्वतन्त्र पुष्टि भइसकेको छैन।
सुमित्राको मृत्युको वास्तविक कारण, उनले भोगेको भनिएको मानसिक यातनाको अवस्था तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषय प्रहरी अनुसन्धानबाट स्पष्ट हुने प्रहरीले जनाएको छ।

COMMENTS