पोखरिया ७ असोज/ पर्साका विभिन्न स्थानमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ४ सय ८ जना लाभान्वित भएका छन्। शिविरमा गरिएको परीक्षणका क्रममा १ सय १५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजकले जनाएको छ।
बीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, बिरञ्ची बर्वा आयोजनामा बिरञ्ची बर्वामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा महिला तथा पुरुष गरी १ सय ८० जनाको आँखा परीक्षण गरिएकोमा ५८ जनामा मोतियाबिन्दु फेला परेको आयोजक संस्थाका सदस्य विश्वनाथ हजराले जानकारी दिए।
मोतियाबिन्दु पहिचान भएका बिरामीको आगामी शनिबार १० गते निःशुल्क शल्यक्रिया गरिने उनले बताए। शिविरमा बीरगञ्ज सामुदायिक आँखा अस्पतालका प्रभात चौरसिया, सीतारा साहनीलगायतको टोलीले आँखा परीक्षण तथा उपचार गरेको थियो।
कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्रकी पिंकी दिदी, रमिता दिदी, वडा अध्यक्ष जय नारायण पटेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिरो पटेललगायतको उपस्थिति रहेको थियो।
यसैगरी, पोखरिया नगरपालिका–८, जगतपुरस्थित स्वास्थ्य चौकीमा तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा २ सय २८ जनाको आँखा परीक्षण गर्नुका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो।
परीक्षणका क्रममा ५७ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।
शिविर लायन्स क्लब अफ वीरगञ्ज सुप्रिम, लायन्स क्लब अफ पोखरिया, लायन्स क्लब अफ वीरगञ्ज तथा श्री टैरी माई युवा क्लब जगतपुर–मननपुरको संयुक्त आयोजनामा भएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानी, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष गोविन्द प्रसाद कानु, लायन्स क्लब अफ सुप्रिमका अध्यक्ष पियुष दारूका, उपाध्यक्ष बी.के. दारूका तथा श्री टैरी माई युवा क्लबका अध्यक्ष अभिषेक सर्राफलगायतको उपस्थिति रहेको थियो।
दुवै शिविरमा गरी ४ सय ८ जनाको आँखा परीक्षण गरिएको र मोतियाबिन्दु पहिचान भएका १ सय १५ जनाको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

COMMENTS