विरगंज, ११ भदौ/ रसुवामा आएको बाढीबाट जोखिममा परेका तथा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले आसमान नेपालले ७ लाख ९ हजार रुपैयाँ सहयोग गरेको छ।
आसमान नेपालमा कार्यरत कर्मचारीहरूबाट संकलित रकम र संस्थाको इमर्जेन्सी फण्डबाट गरी उक्त रकम सहयोग गरिएको संस्थाका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए। उनका अनुसार बाढीबाट प्रभावित तथा जोखिममा परेका नागरिकलाई राहत पुर्याउने उद्देश्यले आजै ७ लाख ९ हजार रुपैयाँ प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो।
प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग उपलब्ध गराउनु संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण कार्य भएको यादवले बताए। विपद्को समयमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराइएको उनले स्पष्ट पारे।
आसमान नेपालले शिक्षा, बालअधिकार, जीविकोपार्जन तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्दै आएको छ। रसुवाका बाढी प्रभावित नागरिकका लागि गरिएको सहयोगले विपद्को समयमा मानवीय सहायता र सामाजिक ऐक्यबद्धता बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

COMMENTS